राजबिराज । सप्तरीकाे राजविराजस्थित राज रंगशाला मा बारम्वार स्ताेन्नतिकाे नाममा १ कराेड भन्दा बढी खर्च गरिएपनि अबस्था जिर्ण बन्दै गएकाे छ।
रंगशालाको स्तरोन्नतिलगायतका लागि तिनै तहको सरकारबाट ५ वर्षमा १ कराेड ७२ लाख भन्दा बढी रकम खर्चिए पनि रंगशालाको हालत जस्ताको त्यस्तै बनेकाे छ । रंगशाला अहिले खेलमैदान नभई गौचरणमा परिणत हुनुका साथै सवारीसाधन सिक्ने स्थल बनेको स्थानियहरू बताउ छन।
रंगशालाको स्तरोन्नतिका लागि आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ मा भएको कार्यमाथि प्रश्न उठाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा आरोप पत्रसमेत दायर गरिसकेको छ भने अन्य आर्थिक वर्षमा भएका कार्यबारे समेत अख्तियारमा उजुरी छ । यता खेलकुद बिकास समिति सप्तरीका प्रमुख दिनेश भुजेलका अनुसार संघीय खेलकुद मन्त्रालयबाट आएको बजेटमध्ये आर्थिक वर्ष ०७३/७४ मा उदय निर्माण सेवाले २५ लाख र ०७४/७५ मा न्यु गहिल कन्स्ट्रक्सनले १७ लाख बराबरको काम रंगशाला स्तरोन्नतिका लागि गरिएकाे बताए। यो दुवै कार्यमा अनियमितता भएको भन्दै अख्तियारले सात जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।
त्यसपछि आर्थिक वर्ष ०७६/७७ मा प्रदेश सरकारले उक्त रंगशाला स्तरोन्नतिका लागि ९० लाख रुपैयाँ उपलब्ध गराएको थियो । मैदान निर्माण, लाइटिङ, तारजारीले घेर्नेलगायतका कार्यका लागि दिइएको रकमबाट उपभोक्ता समितिमार्फत काम भएको थियो । दुई वर्षमात्र हुँदा अहिले लाइटिङ काम गर्न छोडिसकेको छ । रात्रिकालिन खेलसमेत गराउने योजनाका साथ सोलार लाइटिङ समेतको व्यवस्थापन गरिएको छ ।
उपभोक्ता समितिमार्फत भएको उक्त ९० लाखको काममा समेत अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । सो कार्यबारे पनि अख्तियारको टोली पटक–पटक आएर छानबिन र जानकारी लिने कार्य गरिरहेको छ । त्यसपछि प्याराफिट निर्माणका लागि आर्थिक वर्ष ०७७/७८ मा संघीय सरकार र राजविराज नगरपालिकाको समेत सहभागितामा सोही रंगशालामा ४० लाख रुपैयाँसमेत खर्च भएको छ । उक्त बजेटबाट रंगशालाको पश्चिम साइडमा निर्माण भएको प्याराफिट अधुरै छ भने यसरी पछिल्लो ५ वर्षमा राज रंगशालामा पटक पटक गरी विभिन्न शीर्षकमा १ करोड ७२ लाख रुपैयाँ खर्च भइसकेको छ । तर, रंगशालाको अबस्था भने विगतभन्दा झन् बिग्रँदो छ ।
‘रंगशाला अहिले खेल्न लायकको छैन,’ जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख भुजेलले भने, ‘खाल्टाखुल्टीले खेलाडी लडेर घाइते हुने अवस्थामा रंगशालामा छ ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |