राजबिराज । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समिति द्वारा मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माँग गरेको छ। जसपा मधेश प्रदेश समिति अध्यक्ष रामवावु यादवले सुख्खा क्षेत्र घोषणा गरी किसानहरुको लागि विशेष राहतको प्याकेज ल्याउन माग गरेको हो।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दे मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरुको बिशेष राहतको प्याकेज ल्याउन तीनै तहको सरकारसँग आग्रह गरिएको छ । खडेरीले गर्दा कृषिमा आश्रित वहुसंख्यक जनताको जीवन कष्टकर बन्दै गएको अबस्थाप्रति सरकारको यथेष्ट ध्यान पुग्न सकेको छैन ।
अध्यक्ष यादवद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, त्यसैले देशको कृषि हवको रुपमा रहेको मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरुको विशेष राहतको प्याकेज ल्याउन तीनै तहका सरकारसँग जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समिति जोडदार माग गर्दछ ।
प्रसस्त पानी नपरेका कारण धान रोपाई हुन नसकेको तथा किसानहरूले सिंचाइको बैकल्पिक उपाय गरेर लगाएको धानबाली नष्ट भएको भन्दै जसपाद्वारा जारी प्रेस विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ ।देशको ६३ प्रतिशत जनसंख्या कृषिमा आधारित छ, कूल गार्हस्थ उत्पादनमा यसको योगदान ३२ प्रतिशत रहेको छ, प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रयाप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य छन्, जारी प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ । यसपालि प्रशस्त पानी नपरेकाले धान रोपाई हुन सकेको छैन भने बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |