पोर्ट अफ स्पेनमा भएको दोस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई हराउँदै भारतले ३ एकदिवसीय सिरिजमा २–० को अग्रता लिएको छ । भारतले दोस्रो एकदिवसीय क्रिकेट मात्र जितेको छैन, सिरिज पनि जितेको छ । वेस्ट इन्डिज विरुद्ध भारतको यो लगातार १२ औँ जित हो।
यस म्याचमा टिम इन्डियाका कप्तान शिखर धवनको ब्याट चलेन र १३ रन बनाएर आउट भए । तर, उनले कप्तानको रूपमा यादगार जित हात पारे। धवनले पहिलो खेलमा ९७ रनको इनिङ खेलेका थिए ।
भारत र वेस्ट इन्डिजबीचको दोस्रो एकदिवसीय क्रिकेटको कुरा गर्ने हो भने खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको थियो । आफ्नो करियरको १०० औं एकदिवसीय खेल खेल्दै आएका शाई होपले ११५ रनको शानदार इनिङ खेलेका थिए । भारतविरुद्ध उनको यो तेस्रो शतक हो । कप्तान निकोलस पूरनले ७४ रन बनाए ।
भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । जवाफमा टिम इन्डियाले २ बल बाँकी रहँदै ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । भारतका लागि अक्षर पटेलले ३५ बलमा अविजित ६४ रन बनाए , श्रेयस अय्यरले ६३ रन बनाए र सञ्जु सामसनले आफ्नो एकदिवसीय करियरको पहिलो अर्धशतक बनाउदै ५४ रनको पारी खेलेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |