काठमाण्डौ, २७ साउन । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् । निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
निहारिकाले गत २० साउनबाट आमरण अनशन सुरू गरेकी थिइन् । वसन्तपुर डबलीमा अनशन बसिरहेकी उनले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् । आज वसन्तपुरमा प्रहरी नभएको मौका पारेर उनी एकजना साथीसहित ट्याक्सीमा निस्केकी थिइन् । बाटोमै उनले एक लिटर पेट्रोल र लाइटर खरिद गरिन् ।
निहारिका शीतल निवास नजिकको चोकमा ट्याक्सीबाट ओर्लिइन् र तत्कालै शरीरमा पेट्रोल खन्याइन् । र, शरीरमा लाइटरले आगो सल्काउन खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले निहारिकाको साथबाट लाइटर र पेट्रोल हालिएको डब्बा बरामद गरेको छ । उनलाई महाराजगञ्ज वृत्तमा लगिएको छ । निहारिकाको साथी र उनको छोरा पनि प्रहरी नियन्त्रणमा छन् ।
जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उनले बच्चाको डिएनए टेस्ट म्याच गराउन र आरोपिलाई पक्राउ गर्न माग राखेकी छिन्। यसअघि गत जेठमा पनि निहारिका आमरण अनशन बसेकी थिइन् । सरकारी पक्षसँग ५ बुँदे सहमति पछि उनको अनशन तोडिएको थियो । गृहमन्त्री बालकृष्ण खाँडले नै जुस पिलाएर अनशन तोडेका थिए । तर, आफूसँग सरकारले गरेको कुनै पनि सहमति कार्यान्वयन नभएको निहारिकाको गुनासो छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |