काठमाण्डौं, २९ साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा))का नेता राजेन्द्र महतोले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर मधेसी जनताको भावनामाथि आघात गरेको आरोप लगाएका छन् । केपी ओली सरकारले यही कुरा अध्यादेशमार्फत ल्याउँदा स्वीकृत गरिएको तर सार्वभौम संसदले ल्याएको नागरिकता विधेयक अस्वीकृत गर्नु गलत भएको उनले बताए।
राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता भएपछि लोकान्तरसँग कुरा गर्दै महतोले राष्ट्रपति जनताको कठघरामा उभिनु पर्ने बताए । ‘यसअघि हामीपनि सरकारमा भएको बेलामा ओलीजीले अध्यादेश ल्याउँदा स्वीकृत गर्नुभएको थियो । सर्वोच्चको अनुसार संसदबाट विधेयक पारित गरेपछि कसरी बेठीक भयो र’ महतोले भने, ‘त्यही कुरा अध्यादेशमा आउदा स्वीकृत गर्ने, सार्वभौम संसदले पारित गरेर पठाएको विधेयक फिर्ता गर्ने ’ संसदबाट पारित विधेयक फिर्ता गर्ने राष्ट्रपतिको संवैधानिक अधिकार भएपनि यसमा विवेक नपुर्याइएको महतोले टिप्पणी गरे ।
‘सार्वभौम संसदले गरेको निर्णय नमानेर राष्ट्रपतिबाट गम्भीर भूल भएको छ । देश र जनताले प्रश्न गर्न पाउने भए । राष्ट्रपतिले न्याय गर्नुभएन’, महतोले भने । राष्ट्रपति भण्डारीले संसदका दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक आइतबार प्रतिनिधिसभामै फिर्ता गरिदिएकी थिइन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |