मोरङ, ०८ भाद्र । विराटनगर महानगरपालिका – १२ मल्हनवा टोलमा मंगलबार साँझ दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।
पुरानो रिसइबीलाई लिएर गोपाल राजवंशी र राजकुमार कामत समूह बीच दोहोरो झडप भएको हो । घटनामा राजकुमार आफै घाइते भएका छन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झडपमा परेर राजवंशी तर्फका अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका छन् । कामत तर्फका राजकुमार सहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएका छन् ।
केही दिनअघि दिनेश कामतले चलाएको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएको थियो । त्यतिबेला दिनेश माथि कुट पिट् भएको थियो । त्यही घटनाको रिसइबीलाई लिएर विवाद झिकिएको र विवाद दोहोरो झडपमा परिणत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
झडपमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाका बारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताएका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |