सप्तरी, ०८ भाद्र । सप्तरीको रुपनी गाउँपालिका बडा नं ६ स्थित भटनिया टोलको सडक ढलान भएको दुई महिना नबित्दै उप्कन थालेको छ ।
पालिकाको कुल ५ लाखको लागतमा कोटेसन द्वारा निर्माण भएको ३६ मिटर उक्त सडकमा दुई महिना नपुग्दै उप्कन थालेको हो ।
निर्माण गरिएको सडक गुणस्तरहीन सामग्री प्रयोग गरि बनाइएको छ । सडकको कामको ढाकछोप गर्न ठाउँ – ठाउँमा सिमेन्टको घोल हालेको स्थलगत रुपमा स्पष्टै देखिने गरेको नेकपा माओवादी केन्द्रका नेता राजु जैसवालको आरोप छ ।
उनले भने १ लाखमा २ . ५ मिटर चौडाइ र १५ मिटर लम्बाइको गुणस्तरीय बाटो ढलान गर्न पर्याप्त हुने भएकोले त्यही अनुपातमा रु ५ लाखमा ७५ मिटर को बाटो निर्माण हुनुपर्ने हो तर ३६ मिटर मात्रै बनाएर रु ५ लाख भुक्तानी दिएको छ ।
उक्त कामको बिभिन्न ठाउँबाट सेम्पल लिएर गुणस्तर परिक्षण गराउन पठाएका छु, उक्त सेम्पल को रिपोर्ट आएपछि के गर्नुपर्छ, वा सम्बन्धित निकायमा छानबिनका लागि आग्रह गर्नुपर्छ भन्ने बारेमा निर्णय लिने स्थानीय नेता राजु जैसवालले बताउनु भयो ।
यस सम्बन्धमा रुपनी गाउपालिका वडा ६ का वडा अध्यक्ष बद्री सरदारले भने गुणस्तरहीन काम भएको छैन, गुणस्तरीय काम भएको दाबी गरेका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |