राजविराज, १३ भदौ । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज सोमबार देखि सुरु भएको छ । पर्वको पहिलो दिन सोमबार घरघरमा मिठ-मिठा परिकार बनाएर दर खाने गरिन्छ ।
सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ । मंगलबार दिनभर निराहार व्रत बस्नुपर्ने भएकाले सोमबार आडिलो खानालाई दरको रुपमा खाने गरिन्छ ।
पछिल्ला वर्षहरूमा भने तीजका नाममा उच्छृङ्खलता र तडकभडक मौलाउँदै गएको छ । विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन् ।
तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तर्षिको पूजा गरेपछि तीजको व्रत समापन हुने गर्दछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |