राजविराज, २५ भाद्र । जितिया पर्वको अवसरमा महिला अधिकारकर्मि द्वारा महिला समूहले शुक्रवार शुभकामना आदानप्रदान गरिएको छ । कार्यक्रममा सहभागीहरूले महिलाको आस्थाको पर्व जितियामा सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताएका छन् ।
व्रतको पहिलो दिन महिला पोखरी, नदी,जलासयमा नुहाएर घिरौलाको पातमा पिना, तेल, मेहन्दी, सिन्दुर, माटो लगायत सामग्री चढाउँदै पूजा गरी सो पूजा सहितको पातलाई जलाशयमा बगाएर नुहाउने प्रचलन छ । व्रतको दोस्रो दिन आँगनमा घिरौलाको पातमा दही, च्यूरा, केरा, सक्कर चढाएपछि यो व्रतको विधिवत रुपमा उपवास शुरु भएको मानिन्छ ।
पहिलादेखि नै कठोर मानिएका जितिया पर्वको उपवास यस वर्ष पनि कठिन भएकाले लामो समय निराहार बस्न नसक्ने महिलाले आइतबार बेलुकी नियम र श्रद्धापूर्वक फल हार वा जल हार गर्न सकिने शास्त्रमै उल्लेख रहेको अधिवक्ता पार्वती राउतले बताउनुभयो । पर्वमा सन्तानको दीर्घायु र परिवारको सुख शान्तिका निम्ति बस्ने विश्वास रहँदै आएको राजविराज वडा ३ कि मिना ठाकुरले बताउनुभयो ।
थारू महिला सभा सप्तरीका अध्यक्ष चन्द्रिका चौधरीका अनुसार जितियामा दाजुभाइले चेलीलाई माइती अनिवार्य बोलाउने गर्छन् । थारू जातीमा छुट्टै जातीय पहिचान र मौलिकता झल्किने गरी अरु भन्दा विशेष रुपमा जितिया पर्व मनाइने उहाँले बताउनुभयो ।
जितियाको अवसरमा जिल्लाको सदरमुकाम राजविराज, कठौना, करमनिया लगायत ठाउँमा विशेष महोत्सवको आयोजना हुने भएको छ । तीन दिनसम्म चल्ने जितिया पर्व यो वर्ष असोज १ गते शनिबारदेखि ३ गते सोमवार सम्म चल्ने बताइएको छ । तराईका सबै जिल्लामा मनाइने जितिया पर्वमा मधेश प्रदेश सरकारले गत वर्ष सार्वजनिक बिदा दिएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |