ओखलढुङ्गा, १० असोज । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका-४ मा हत्या गरिएका सप्तरीको विष्णुपुर गाउँपालिका-५ का शिक्षक दीपक कुमार ठाकुरको हत्या आरोपी पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार ठाकुरसँग प्रेम सम्बन्धमा रहेकी धमलाले असोज ६ गते राति ठाकुरको हत्या गरेर फरार रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
शिक्षक ठाकुर लामो समयदेखि ओखलढुङ्गामा शिक्षण पेसामा कार्यरत थिए । हाल चिशंखुगढी गाउँपालिका-४ लेखर्कमा रहेको कालिका आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक ठाकुर सोही स्थानमा कुमार राईको घरमा डेरामा बस्ने गरेका थिए ।
मृतकको टाउको तथा शरीरको अन्य भागमा समेत कुटपिट गरी घाइते बनाई नाक, मुख र घाँटीमा गम्छाले बाँधी मुखमा सिरानीले थिची हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा सूक्ष्म रूपमा अनुसन्धान गर्दा घटनामा छलमायाको संलग्नता हुनसक्ने आशङ्का गरी पक्राउ गर्दा शङ्कितले आफ्नो अपराध प्रहरीसमक्ष कबुल गरेको प्रहरीले जनाएको छ ।
आरोपित धमला पहिले ठाकुरकै विद्यार्थी रहेको र हत्याअघि उनीहरू प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ । हत्यामा धमलाले आफ्नो मात्रै संलग्नता रहेको प्रहरीलाई बताएकी छिन् । हत्यामा अन्य कुनै व्यक्तिको पनि संलग्नता छ कि भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
असोज ७ गते बिहान शिक्षक ठाकुर आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जानकारी स्थानीयले प्रहरीलाई दिएपछि प्रहरी चौकी शेर्नाबाट प्रहरी पुगी घटनास्थलको सुरक्षा गरेका थिए । पछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट डिएसपी शुकदेव खनालको कमान्डमा प्रहरी टोली घटनास्थलमा अनुसन्धानका लागि पुगेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |