राजविराज, ११ कार्तिक । जनआस्थाको महान पर्व छठ पर्व आजदेखि सुरु हुँदैछ । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन देखि व्रतालुले तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन् ।
पर्वमा महिला/ पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेका देखिन्छ । पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनितो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ । पर्वले घरघरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् ।
आइतबार (कात्तिक शुक्ल तृतीया) का दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी मैयालाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा पसेर नुहाएसँगै अस्ताउँदा सूर्यलाई अरघ दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरघ’ भनिन्छ । यसरी ‘सझुका अरघ’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अरघ दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |