एजेन्सी । अस्ट्रेलियामा भइरहेको टी–२० विश्वकप २०२२ को तेस्रो खेलमा भारतले हार बेहोरेको छ । सुपर–१२ को महत्वपूर्ण खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सकेको थियो ।
जवाफमा एडन मार्कराम ५२ र डेभिड मिलर ५९ बीचको अर्धशतकीय साझेदारीमा दक्षिण अफ्रिकाले दुई बल बाँकी रहँदै ५ विकेटमा १३७ रन बनाएर खेल जित्यो ।
१३४ रनको सानो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुवात खराब रह्यो । पावरप्लेमा नै दक्षिण अफ्रिकाले तीन विकेट गुमाएको थियो । कप्तान टेम्बा बाभुमा १५ बलमा १० रन बनाए । यसपछि एडन मार्कराम र डेभिड मिलरले चौथो विकेटका लागि ६० बलमा ७६ रनको साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्याएका थिए ।
एडन मार्कराम ४१ बलमा ५२ रन बनाएर आउट भए । डेभिड मिलरले स्टब्ससँग मिलेर २२ रनको साझेदारी गर्दै जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । डेभिड मिलरले ४६ बलमा ५९ रन बनाएर अविजित रहे ।
भारतका लागि अर्शदीप सिंहले २ तथा शमी, हार्दिक र अश्विनले १–१ विकेट लिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |