राजबिराज, २२ कार्तिक । आसन्न मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सप्तरीको चुनावी सरगर्मी भने बढेको छ ।
यसैक्रममा सप्तरी क्षेत्र नं २ को (२) बाट बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार उमेश कुमार यादव विभिन्न स्थानीय एजेण्डासहित मतदाताको दैलो दैलोमा पुगिरहेका छन् । उनले सप्तरीको विकासका लागि आफ्नै एजेण्डाहरू प्रस्तुत गरिरहेका छन् ।
सप्तरीको विकासका लागि भारतीय नेशनल हाईवे सँग सडक सञ्जालले जोड्नै पर्ने उनको योजना छ । उनले राजबिराज भन्सारको स्तरोन्नति, भारतको नेशनल हाईवे सँग नेपालको हाईवे लाई जोड्ने, न्यूनतम रेलवे लाइनको पूर्वाधार निर्माण गर्ने तथा सप्तरीलाई पहाडी जिल्लासम्म सडक सञ्जालको निर्माण (उतर–दक्षिण सहायक राजमार्ग) गर्नु पर्ने आवश्यकता औंल्याएका छन् ।
सँगै राजविराज विमानस्थलको स्तरोन्नति तथा सप्तरीको औद्योगिक क्षेत्रको विकास र बिस्तार एवम् निर्वाहमुखी कृषि प्रणालीलाई आत्मनिर्भर तथा निर्यातको स्तरमा उठाउने गरी आफूले काम गर्ने उनको योजना छ । दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी २ बाट निर्वाचित भएका यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सिचाई मन्त्री समेत भएका थिए ।
उनले आफ्नो कार्यकालमा खाँडो नदी नियन्त्रणका लागि काम गरेका थिए । खाँडो नदीलाई चिनको दुख भनेझैँ सप्तरीको दुःखका रुपमा रहेको खाँडो नदी नियन्त्रणमा उनले खेलेको भूमिकाको जिल्लावासी अहिले पनि प्रशंसा गर्छन ।
यति मात्र होइन, उनले सप्तरीको सिँचाइको क्षेत्रमा पनि काम गरेका थिए । पोखरी निर्माण तथा संरक्षणमा पनि उनको योगदान रहेको नागरिक समाजका अगुवाहरू बताउँछन् । यादव बोलेको कुरा पुरा गर्ने नेताका रुपमा चिनिने गरेको उनीहरूको भनाई छ ।
सप्तरी २ (२) गठबन्धनको दबदबा सप्तरी २ को (२) मा विभिन्न राजनीतिक दलका ९ सहित १४ जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी, नेपालका लक्ष्मण यादव, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उमेश कुमार यादव, नेपाल संघीय समाजवादी पार्टीका मो. फरमुद, जनमत पार्टीका महेश प्रसाद यादव, हाम्रो नेपाली पार्टीका खेलानन्द कुमार दास, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका फुदनलाल खङ्ग खत्वे, नेपाल मजदुर किसान पार्टीका महिदेव प्रसाद चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका फलेन्द्र मंडल, नेपाली कांग्रेस (बी.पी)का प्रतिमा कुमारी देव चुनावी प्रतिस्पर्धामा छन् ।
यसैगरी, स्वतन्त्रतर्फ गंगा राम यादव, दुर्गानन्द यादव, रिंकु देवी यादव, सकुन्तला देवी यादव र निरज कुमार साही (खडगी) ले उम्मेदवारी दिएका छन् । जसमध्ये ब्यक्तित्व, विगत, गठबन्धन तथा स्थानीय तह निर्वाचनका आधारमा सत्ता गठवन्धन वलियो अवस्था देखिएको सप्तरीका राजनीतिक विश्लेषकहरु बताउँछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |