राजविराज, १७ मंसिर । मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको संस्थापक अध्यक्ष शिवहरि भट्टराईको आकस्मिक निधन भएको छ ।
सप्तरीको राजविराज नगरपालिका ७ निवासी ६८ वर्षीय भट्टराई नेपाल पत्रकार महासंघ सर्लाही शाखाले शनिवार आयोजना गर्न लागेको ११औं साधारणसभामा सहभागी हुन शुक्रवार लालबन्दी पुगी होटलमा बास बसेका भट्टराई होटेल कोठामै बिहान मृत फेला परेका हुन् ।
सर्लाहीकै अस्पतालमा पोष्टमार्टम पश्चात सप्तरीको राजविराज -७ स्थित रहेको जन्मघर ल्याएर अइतबार उहाँको पार्थिव शरीरलाई अत्येष्टी गरिने नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवण देबले जानकारी दिएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष समेत रहिसक्नु भएका वरिष्ठ पत्रकार भट्टराई विगत चार दशकदेखि सप्तरीको पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय मधेस प्रदेश सरकारले उहाँलाई मिडिया काउन्सिलको अध्यक्ष को जिम्मेबारीमा नियुक्त गरिएको थियो ।
यता नेपाल पत्रकार महासंघ शाखा सप्तरीले शोक प्रस्ताव पारित गर्दै १३ दिन सम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने र पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको यही पुस २ गते हुने भनिएको साधारणसभा पनि अर्को निर्णय नहुन्जेलको लागि स्थगित गरिएको महासंघका सचिव रामनारायण विश्वासले जानकारी दिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |