राजविराज, १९ मंसिर । मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरी प्रसाद भट्टराईको अन्त्येष्टि गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा आइतबार अन्तिम श्रद्धाञ्जली पछि कोशी ब्यारेजमा उनको अन्त्येष्टि गरिएको हो ।
भट्टराईको पार्थिव शरीरमा जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, गृह तथा संचार मन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुबी कुमारी कर्ण, १ नम्बर प्रदेशका स्वास्थ्यमन्त्री जयराम यादव, पूर्व मन्त्री रेणु यादव, मृगेन्द सिंह यादव, उमेश कुमार यादव, जयप्रकाश प्रसाद गुप्ता, आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव लगायतका पत्रकार महासंघका केन्द्र, प्रदेश तथा जिल्ला पदाधिकारी, बिभिन्न संचारमाध्यम कार्यरत पत्रकारहरु र बिभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूले माल्यार्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।
साथै उनका धर्मपत्नी बिन्दु भट्टराई सहित परिवारजनसँग भेटेर सहानुभुति प्रकट समेत गरे । भट्टराईको सर्लाहीस्थित एक होटल शुक्रबार राती निधन भएको थियो ।
उनको हिन्दु परम्परा अनुसार कोशी ब्यारेजमा लगेर अन्त्यष्टि गरिएको नेपाल पत्रकार महासंघ सप्तरीले जनाएको छ । भट्टराई नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक सभापति तथा केन्द्रिय उपसभापति समेत रहेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |