राजबिराज, ४ पुस । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पत्रकारलाई ज्यानमार्ने धम्की दिनेलाई कानूनी दायरामा ल्याउन प्रहरी गम्भीर नभएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो ।
महासंघले विज्ञप्ति जारी गर्दै पहिलो चरणमा पुस १२ गतेसम्म गर्ने सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिअनुसार पुस ५ गते पीडित पत्रकारलाई न्याय र पीडकलाई कारबाहीको मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने र सोही दिन हातमा कालो पट्टी बाँधेर काम गर्ने सङ्घर्षका कार्यक्रम तय गरिएको छ ।
त्यस्तै, पुस ६ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीको औपचारिक कार्यक्रम बहिष्कार गर्ने, पुस ७ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीका प्रमुख सहभागी भएको जुनसुकै कार्यक्रम बहिष्कार गर्ने विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, पुस ८ गते सुर्खेतमा आयोजना हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभास्थलमा दोषीलाई कारबाही र पीडित पत्रकारलाई न्यायको मागसहितको ब्यानर प्रदर्शन गर्ने र पुस १२ गतेसम्म पनि मागप्रति स्थानीय प्रहरी–प्रशासन गम्भिर नभए दोस्रो चरणको आन्दोलनमा जाने विज्ञप्तिमा चेतावनी समेत दिइएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका सप्तरी शाखाका सदस्य अवधेशकुमार झाले कान्तिपुर दैनिक पत्रिकामा राजविराज नगरपालिका कार्यालयको समाचार लेखेका थिए । सोही समाचारलाई लिएर गत मंसिर १९ गते नसरुल राजा र मो. सजाद नामक फेसबुक आइडीबाट ज्यानमार्ने धम्की दिएका थिए ।
धम्कीपछि महासंघ शाखा सप्तरीले दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपनि प्रहरीले कानूनी प्रक्रिया अघि बढाउन आलटाल गर्दै आएका छन् । पछिल्लो पटक पुस १ गते महासंघले ४८ घण्टे अल्मिटेम दिँदै संघर्ष थालेको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |