राजविराज, ८ पुस । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको पुस ४ गते देखि १२ गते सम्मको बिभिन्न चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत सुर्खेतमा आयोजित महासंघको केन्द्रिय साधारणसभा स्थलमा ब्यानर प्रदर्शन गरिएको छ ।
प्रेस मञ्च नेपालका महासचिव एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य कान्तिपुरकर्मी अवधेशकुमार झालाई ज्यानमार्ने धम्की दिने उपर कडा कारबाहीको माग गर्दै सुर्खेतको विरेन्द्र नगरमा शुक्रबार प्रदर्शन गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देव नेतृत्वमा पत्रकार अबधेश झाको जीवन रक्षा गर, ज्यानमार्ने धम्की दिनेलाई अविलम्ब पक्राउ गरी कारबाही गर भन्ने नारा उल्लेखित ब्यानर प्रदर्शन गरिएको छ ।
महासंघ सप्तरीले पत्रकार झालाई ज्यान मार्ने धम्की दिने व्यक्तिहरूलाई पक्राउ गरि कारबाही गर्न आलटाल गरेको भन्दै स्थानीय प्रहरीप्रशासन विरुद्ध चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
राजविराज नगरपालिका कार्यालयको समाचार लेखेकै कारण फेसबुकमा नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडीबाट पत्रकार झालाई १९ मंसिर २०७९ मै ज्यानमार्ने धम्की दिँदा पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले कारबाही प्रक्रिया अगाडि नबढाएको भन्दै सप्तरीका पत्रकारहरू आन्दोलनमा छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |