राजबिराज, १३ पुस । सामाजिक सञ्जालमार्फत पत्रकार अवधेशकुमार झालाई ज्यान मार्ने धम्की दिने नसरुल राजाले माफी मागेका छन् ।
कान्तिपुरकर्मी झाले केही समयअघि राजविराज नगरपालिकाको कार्यालयमा देखिएको बेतिथि विरुद्ध समाचार लेखेका थिए । सोही समाचारलाई लिएर स्थानीय नसरुलले सामाजिक संजाल (फेसबुक) मा ज्यान मार्ने धम्कीसहितको पोष्ट गरेसँगै महासंघ शाखा सप्तरीले आन्दोलन सुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपी नसरुललाई हिरासतमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको वेला आइन्दा पत्रकारको सम्बन्धमा यस्तो नलेख्ने भनी आरोपी नसरुलले माफी माग्दै कागजी कानूनी प्रक्रिया पूरा गरेपछि सहमतिमै उनलाई रिहा गरिएको महासंघ शाखा सप्तरीका सचिव रामनारायण विश्वासले जानकारी दिए ।
सो छलफलमा नसरुलको तर्फबाट अधिवक्ता मोहम्मद समिम र नेपाल पत्रकार महासंघबाट अध्यक्ष श्रवण देव, पूर्व अध्यक्ष जितेन्द्र खड्गा, पीडित पत्रकार अवधेश कुमार झा लगायतको उपस्थिति रहेको थियो । सहमतिसँगै महासंघ शाखा सप्तरीले थालेको आन्दोलनको कार्यक्रम पनि फिर्ता लिएको महासंघले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |