राजबिराज, १८ पुस । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले कार्यालयमा सिटामोल सम्म किन्ने बजेट नहुँदा स्थानीय तह र प्रदेश सरकारको मुख ताकेर बस्नु परेको गुनासो पोखेको छ ।
आइतबार मधेश प्रदेशसभा सदस्यहरूले पहिलो पटक जिल्ला भरीकै कार्यालय प्रमुखहरूको भेलामा सो कुरा बताएको हो । उनले कतैबाट बजेट नआउँदा एक पत्ता सिटामोल किन्न पनि विभिन्न पालिका र प्रदेश सरकारसँग सहयोगका लागी आग्रह गरेको गर्दै आएको बताए । उनले ती औषधीलाई गन्तव्यसम्म पु-याउन ढुवानी भाडा समेत नरहेको लाचारी सुनाए ।
सप्तरी क्षेत्र नं. २ को १ र २ बाट निर्वाचित प्रदेशसभा सदस्यद्वय सतिश कुमार सिंह र महेश प्रसाद यादवले संयुक्त रुपमा कार्यालय संचालनमा आउने समस्या र त्यसलाई समाधानका लागि पहल थालिने प्रतिबद्धता जनाएका छन् ।
जनतालाई चुस्तदुरुस्त सेवा प्रवाहका लागि पहिले कार्यालय प्रमुखहरु बाट समस्याबारे जानकारी लिने र त्यसपछि आवश्यक पहल गरिने प्रदेशसभा सदस्य महेश यादबले बताए । प्रदेशसभा सदस्य सिंह र यादवका साथै प्रमुख जिल्ला अधिकारी थापाले सो बैठकमा जनतालाई सेवा प्रवाहमा सुधार ल्याई गुनासो नआओस् भनी ध्यानाकर्षण गराएका थिए ।
बैठकमा अधिकांश कार्यालय प्रमुखहरूले कर्मचारी र बजेटको चरम अभावका कारण काममा समस्या परिरहेको लाचारी व्यक्त गर्दै यस तर्फ आवश्यक पहल गर्न आग्रह गरेका थिए ।
यस्तै नेपाल टेलिकमका शाखा प्रमुख हसन अन्सारीले कर्मचारीको चरम अभावले सेवा प्रवाहमा समस्या भइरहेको गुनासो पोखे ।
उनले कर्मचारीको चरम अभाव रहेको तथा अर्को तीर नियमित मोबाइल नेटवर्कका लागि २२ वटा टावर राख्नु पर्नेमा केन्द्रिय कार्यालयले २ वटा टावर मात्र राख्ने स्वीकृत दिएको जनाए । यसैगरी तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादवले कर्मचारीको चरम अभावका कारण सेवा प्रवाहमा समस्या भएको भन्दै प्रदेश लोकसेवा आयोगबाट भएपनि यथाशक्य विज्ञापन र रिक्त पद पुर्तीको व्यवस्था मिलाउन पहलका लागि आग्रह गरे ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले रिक्त रहेको दरबन्दी पदपूर्ति नहुदाँ र आवश्यक बजेटको अभावमा कृषि क्षेत्रमा समस्या उत्पन्न हुने गरेको बताए । घरेलु तथा साना उधोग कार्यालयका प्रमुख रेखा यादवले कर्मचारी तथा भौतिक पूर्वाधारको अभावमा सेवा प्रवाह गर्न निकै अप्ठ्यारो भइरहेको भन्दै यसका लागि पहल गर्न ध्यानाकर्षण गराए ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहितका अधिकाँश सहभागी कार्यालय प्रमुखहरूले कर्मचारी र बजेटको चरम अभाव प्रति ध्यानाकर्षण गराएपछि प्रदेशसभा सदस्यद्वय सिह र यादवले उक्त समस्या समाधानका लागि आफुहरुले प्रदेश देखी केन्द्र सम्म आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |