जनकपुर । प्रदेश आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले सार्वजनिक रूपमा पत्रकारलाई धम्की दिनु घोर निन्दनीय कार्य रहेको बताएका छन् ।
अध्यक्ष यादवले प्रेस स्वतन्त्रता र कानुनी राज्यको धज्जी उडाएको बताउदै पत्रकारमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जानकारी गराएको छ।
विगत केही महिनायता मधेश प्रदेशका जिल्लाहरूमा कार्यरत पत्रकारहरूमाथि धम्की एवम् दुर्व्यवहारका घटनाहरू बढिरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ प्रदेश आम संचार प्राधिकरणद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्राधिकरणद्वारा जारी विज्ञप्तिमा समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की दिनुले प्रेस स्वतन्त्र कानुनी राज्यको धज्जी उडाएको ठहर गरेको छ ।
पछिल्लो २०७९ पुस १५ गते धनुषाका पत्रकार शैलेन्द्र महतो ९शैलेन्द्र क्रान्ति०लाई समाचारको विषयलाई लिएर धनुषाको विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कार्वाही गर्ने धम्की दिएको जानकारी प्राप्त भएको छ अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
मधेश प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूको शपथ–ग्रहण समारोहको समाचार सङ्कलनमा खटिएका पत्रकार महतोलाई मेयर दासले नगरपालिका आउनु ‘लात्तीले हानेर छातीको हाड भाँचिदिन्छु’ मैले नसके महिला र अन्य मान्छे लगाएर भाँच्छु भनेर आक्रमणको धम्की दिनुले प्रेस स्वतन्त्रता र कानूनी राज्यको धज्जी उडाएको हाम्रो ठहर छ ।
अध्यक्ष यादवले स्थानीय सरकारको प्रमुख जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिक रुपमा धम्की दिएको घटनाप्रति निन्दा व्यक्त गर्दै कानुनी दायरामा ल्याई कारबाही गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।
प्रेस स्वतन्त्रताको रक्षा एवम् सम्मान गर्नुपर्नेमा स्थानीय सरकारको प्रमुख जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिक रुपमा पत्रकारलाई धम्की दिनु घोर निन्दनीय कार्य हो, प्रेस विज्ञप्तिमा भनिएको छ, मेयर दासले यसअघि पनि अन्य सञ्चारकर्मीहरूमाथि हातपात एवम् दुर्व्यवहार गरेको जानकारी प्राप्त भएकोले यस्ता घटना दोहोरिन नदिन अविलम्ब कानूनी दायरामा ल्याई कडा कारवाही गर्न सम्बन्धित निकायसँग आग्रहसहित ध्यानाकर्षण गराउन चाहन्छौँ ।
मधेश प्रदेशका पत्रकारहरूलाई शान्तिपूर्ण एवम् भयमुक्त वातावरणमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न तथा पत्रकार महतोको सुरक्षाप्रति गम्भीर बन्न सुरक्षा संयन्त्रसँग आग्रह छ अध्यक्ष यादवले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |