राजविराज, २१ पौष । सप्तरीको राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी र सप्तकोशी नगरपालिकाले र राजगढ गाउँपालिकामा पुस २२ गते शुक्रबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
हिन्दु धर्मावलम्बीहरूले विषेश महत्वका साथ मनाउने पुस शुक्ल पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएको हो ।
राजविराज नगरपालिकाले बिहीबार एक सुचना निकालेर नगर कार्यपालिकाको कार्यालय लगायत मातहतको अति आवश्यक सेवा बाहेक सबै वडा कार्यालयहरू, विद्यालय र विषयगत शाखाहरुमा विदा दिएको जनाएको छ ।
पुस शुक्ल पूर्णिमाको दिन भव्य रुपमा कोशी नदी, ताल–तलैया, पोखरीलगायत जलाधारहरुमा स्नान गरी पूजा पाठ गर्ने माघस्नान आरम्भ तथा बिभिन्न स्थानमा मेला आयोजना गरि भव्य रुपमा पुसि पूर्णिमा मनाउने गरिन्छ, कार्यवाहक नगरप्रमुख इसरत परविन द्वारा जारी सूचनामा भनिएको छ, संस्कृतिको संरक्षण र सम्वर्द्धन लागि विगतमा दिंदै आएको विदा यस बर्ष पनि पुस २२ गते १ दिन सार्वजनिक विदा दिएको छ ।
नगर कार्यपालिकाको कार्यालय लगायत मातहतको अति आवश्यक सेवा बाहेकका सबै वडा कार्यालयहरू, विद्यालयहरू, र विषयगत शाखाहरुमा विदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ, नगर प्रमुख परविनद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
यसैगरी सप्तकोशी नगरपालिका ६ स्थित म्याग्जिन चौरियामा पुसि पूर्णिामाको अवसरमा लाग्ने ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मेलालाई भब्यताका साथ मनाउन सप्तकोशी नगरपालिकाले समेत पुस २२ गते सार्वजनिक विदा दिएको छ । नगरप्रमुख कृष्णा प्रसाद ढकालद्वारा बुधबार सुचना निकालेर पुस २२ गते नगरपालिकामा सार्वजनिक विदा दिएको जनाएको छ ।
यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकाले समेत पूर्णिमाको अवसरमा १ दिन विदा दिएको छ । नगरप्रमुख विरेन्द्र माझीले एक सूचना जारी गर्दै पुस २२ गते नगर क्षेत्रभरी सार्वजनिक विदा दिएको जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |