राजविराज, २२ पुस । कोशी मेला आजदेखि सुरु भएको छ। सप्तकोसी नदीमा स्नान तथा नदी किनारमा खानपिन गरी रमाइलो गरिने कोशी मेला बिहानैदेखि सुरु भएको हो ।
विशेष गरी भारदहस्थित कोशी ब्यारेज, सप्तकोशी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित कनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुर लगायतका स्थानमा भक्तजनको भीड लागेको छ ।
सवारीसाधन सहज रुपमा पुग्न सक्ने ब्यारेज बाहेक चारपांग्रे गाडीको असहजता भएका स्थानहरुमा बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरी नै घुइँचो हुन्छ। कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो छ ।
ओद्राहा तथा कोशी ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, भारतको पूर्णीया, लौकही, मधुवनीलगायतका जिल्लाबाट समेत कोशी स्नान गर्न हजारौं सर्वसाधारण आउँछन् । कृषि मेलाको रुपमा समेत चिनिने कोशी मेलामा कृषि औजारका साथै घरेलु औजार (हस्त निर्मित सामग्री) हरुको खरिद बिक्री हुने गरेको छ ।
पुस महिनाको शुक्ल पूर्णिमाको दिन कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह हुने जनविश्वास रहेको छ । यस दिन बिहानै कोशी नदीमा नुहाएर मिठोचाखो खाने चलन छ। मेलामा भुजा, च्यूरा, पुरी, तरकारी, जेरीसहितका मिठाईहरु खाने प्रचलन छ ।
कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलन अनुसार यस दिन कोशीमा नुहाएर खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रहेको स्थानीय बुढापाकाहरू बताउँछन् ।
यसैबीच पर्व मनाउन पाँच स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ। पूर्णिमा पर्व मनाउन सप्तरीका १८ मध्ये ४ स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ ।जिल्लाको राजबिराज, सप्तकोशी, हनुमाननगर कंकालिनी नगरपालिका तथा राजगढ सार्वजनिक विदा दिइएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |