राजविराज ८ माघ । २८५९ औं सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ्ग घेदुङसप्तरीद्वारा सप्तरीको खडक नगरपालिका ७ स्थित मझौमा आइतबार भव्यताको साथ सोनाम ल्होछार मनाएका छन् ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रदेश सांसद न्यौपानेले हरेक समुदायको सांस्कृतिक पहिचानलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए । राज्यमा मानिने सबै जातजातीको संस्कृति राज्यको गौरव हो, सांसद न्यौपानेले भने, त्यसको संरक्षण र सम्वर्द्धन गर्ने राज्यको दायित्व भित्र पर्छ, सांस्कृतिक जगेर्ना र आर्थिक समृद्धिको अभियानमा तामाङ समुदायको अहम् भूमिका रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि सांसद न्यौपानेले सांस्कृतिक जगेर्नाको साथै आर्थिक रूपान्तरणको कार्यमा निरन्तर लाग्न तामाङ समुदायलाई आग्रह गरे ।
खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले तामाङ समुदायले संस्कृति संरक्षणमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा व्यक्त गरे । आफ्नो नगरपालिकामा जिल्ला स्तरीय ल्होछार महोत्सव आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू पालिकामा गर्न आग्रह गर्दै नगरपालिका सहयोग गर्न तत्पर रहेको बताए ।
सप्तरीमा निरन्तर तामाङ्ग समुदायले सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान लगायत विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष वृजमान तामाङले जानकारी दिए । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष सन्तमान गोलेको अध्यक्षता आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम बहादुर घिसिङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान, आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष प्रिया सिंह थारु, धर्मिहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादव, खडक नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष राकेश कुमार साह, दनुवार जागरण समिति सप्तरीका अध्यक्ष खेमराज सिंह दनुवार, भुजेल सेवा समाज सप्तरीका अध्यक्ष दिनेश भुजेल, नेपाल आदिवासी जनजाति महासंघ खडक नगरपालिकाका अध्यक्ष राजेन्द्रप्रसाद चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
नेपाल तामाङ घेदुङ सप्तरीका सचिब सुर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल तामाङ घेदुङ खडक नगरपालिकाका अध्यक्ष सुर्यमान गोलेले गरे । कार्यक्रममा वरिष्ठ कलाकार अन्जनी सिंह थारु, टिक बहादुर तामाङ, राजेश घिसिङ लगायतका चर्चित तामाङ कलाकारहरूद्वारा गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |