राजबिराज, २ फागुन । कंचनपुरको स्वास्थ्य केन्द्रमा तोडफोड गर्नेमाथि हालसम्म कानुनी कारबाही अगाडि नबढाएको भन्दै सप्तरीको कंचनरुप नगरपालिकाको स्वास्थ्य शाखामा मंगलबार प्राथामिक स्वास्थ्य केन्द्र कंचनपुरका स्वास्थ्यकर्मीहरू धर्नामा बसेका छन् ।
वडा नम्बर- ८ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गर्नेमाथि कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरू स्वास्थ्य शाखा अगाडि धर्नामा बसेका हुन । प्राथमिक स्वास्थ्य केन्द्र आबद्ध स्वास्थ्यकर्मीले चरणवद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै स्वास्थ्य शाखामा धर्ना बसेका छन् ।
आन्दोलनरत स्वास्थ्यकर्मीहरूले तोडफोडमा संलग्न व्यक्तिहरूलाई कारबाही नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिए । गत माघ २२ गते कार्यपालिका सदस्य तनुकलाल शर्मा बरहिसहितका व्यक्तिहरूले उपचारको बहानामा इमर्जेन्सी सेवामा तोडफोड गरेको स्वास्थ्यकर्मीहरूले आरोप लगाएका छन् ।
उनीहरूले प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गर्नेमाथि कारबाहीको माग राखी माघ २७ गते स्वास्थ्य शाखा प्रमुखलाई ४ बुंदे मागसहित २४ घण्टाको अल्टिमेटम दिएको थियो । उक्त माग सम्बोधन नहुदाँ धर्नामा बस्न बाध्य भएको इमर्जेन्सीका इन्चार्ज श्यामसुन्दर साहले जानकारी दिए ।
स्वास्थ्यकर्मीहरूले पहिलो चरण अन्तर्गत फागुन २ गते देखि ५ गतेसम्मको विभिन्न माग राखी ४ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छ्न । आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन २ गते स्वास्थ्य शाखामा धर्ना बस्ने, फागुन ३ गते कंचनरुप नगरपालिका स्वास्थ्य शाखामा तालाबन्दी गर्ने र प्रथामिक स्वास्थ्य केन्द्र कंचनपुरमा इमर्जेन्सी सेवा बन्द गरि धर्ना बस्ने, फागुन ४ र ५ गते नगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्यसंस्थाहरु बन्द गरि धर्ना बस्ने, मांग सम्बोधन नभएमा फागुन ५ गते थप आन्दोलनका कार्यक्रम गर्ने जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |