काठमाण्डौ, ५ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्यान्ड माथि सानदार जित निकालेको छ । स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर भेटायो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले उत्कृष्ट ब्याटिङ गर्दै कुशलले ६७ बलमा ८१ रन बनाएर आउट भए भने दीपेन्द्रले १ सय १६ बलमा नटआउट ८५ रन बनाए । बलिङतर्फ स्कटल्याण्डका क्रिस सोल र मार्क वाटले ३/३ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा १ सय ७ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक हो ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने कुशल मल्लले २ तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।
यो जितसँगै नेपाल २६ खेलमा २२ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । स्कटल्यान्ड ३४ खेलमा ४८ अङ्कका साथ शीर्ष स्थानमा यथावत् छ । नेपालले शृङ्खलामा भोलि शनिवार नामिबियासँग र आउँदो मङ्गलवार फेरि स्कटल्यान्डसँग खेल्नेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |