सप्तरी , ६ फागुन । वित्तीय संस्थाको कर्जाको तनावले रुखमा पासो लगाएर आत्महत्या गरेकी सप्तरीको कञ्चनरुप नगरपालिका ९ की ५८ वर्षीय शान्ता कुमारी भुजेलका परिवारलाई शनिबार दलित सरोकार मञ्च नेपालले सहयोग गरेको छ ।
वित्तिय संस्थाहरू र स्थानीय व्यक्तिहरूसँग समेत अत्यधिक कर्जा लिएका भुजेल गत आईतबार रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन । लघुवित्तहरू तथा साह महाजनले ऋण तिर्न दिएको दबाबका कारण शान्ताले आत्महत्या गरेपछि काजकिरिया गर्न समेत समस्या भएको जानकारी पाएपछि मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले कञ्चनरुप नपाकी उपप्रमुख मुनाकुमारी पोखरेल, कञ्चनरुप ९ का वडाअध्यक्ष रामसुन्दर यादब, कार्यपालिका सदस्य शोपा पासवान समेतको उपस्थितिमा खाद्यान्य सहयोग गरेका हुन् ।
मञ्चले मृतक परिवारलाई सय किलो चामल, ४० किलो गहुँको पिठो, ३ केजी दाल, २ केजी नून, तेल एक लिटर र ५ पिस साबुन सहयोग स्वरुप दिइएको मञ्चका जिल्ला संयोजक राजकुमार पासवाने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी वडाअध्यक्ष रामसुन्दर यादबले सम्पत्तिको नाममा रहेका १० धुर जग्गा समेत अर्कैको नाममा रहेकोले त्यसलाई फिर्ता गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।
बितेको एक वर्षमा २ सय विपन्न परिवारको छोरीको विवाह र करिब ३ सय परिवार विपन्नलाई क्रियामा खाद्यान्य सहयोग गरेका जिल्ला संयोजक पासवानले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |