काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णयलाई सदर गर्दे उनलाई विदेश जान लगाएको रोक सर्वोच्चले फुकुवा गरिदिएको छ ।
उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । त्यस्तै विदेश जान पाउनुपर्ने माग गर्दै लामिछानेले पनि सर्वोच्चमा निवेदन दिएका थिए ।
दुवै निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई विदेश जान पाउने अनुमति दिएको हो । सर्वोच्च अदालतको आदेशमा विदेश गएको अवस्थामा फर्केको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा जानकारी दिनु भनिएको छ ।
लामिछानेले विश्वकप लिग-२ अन्तर्गतको श्रृंखलाका लागि खेल्न पाउँ भनी गत बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |