राजविराज । सप्तरीको श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा संयुक्त विद्यार्थी गठबन्धनको प्यानल नै विजयी भएको छ ।
स्ववियु सभापतिमा जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका उम्मेदवार रंजित कुमार यादवले ४२३ मत ल्याएर निर्वाचित भएका हुन् । उनले रंजिव कुमार साहलाई दोब्बर भन्दा बढि मतले पराजित गरेका हुन् । साह अनेरास्ववियु संगठनबाट उम्मेदवार थिए ।
स्ववियु सचिवमा गठबन्धनका सुनिल कुमार मण्डल र कोषाध्यक्षमा मेनुका साह निर्वाचित भएका छन् । सदस्यमा बिनय यादब, मो जकाउल्लाह, रामानन्द राम, प्रकाश यादब, कंचन ठाकुर, नन्दन मण्डल र राकेश यादब निर्वाचित भएका छन् ।
समानुपातिक तर्फ समाजवादी विद्यार्थी युनियनले २९३ मत ल्याएका छन् भने अखिल क्रान्तिकारी १३७, नेविसंघ संघ १४४ र अनेरास्ववियुले ११४ मत ल्याएका छन् । लोकतान्त्रिक विद्यार्थी संघले ५२, अनेरास्ववियु समाजवादीले ४८ मत प्राप्त गरेका छन् ।
यहाँ समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी तथा लोकतान्त्रिक विद्यार्थी संगठनले गठबन्धन गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |