राजबिराज, १४ चैत्र । प्रेस मञ्च नेपाल सप्तरीले नवनिर्वाचित जिल्ला कार्यसमितिको पदस्थापन गरिएको छ । मंगलबार नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य तथा जनता समाजवादी पार्टी, नेपालका मधेश प्रदेश समितीका उपाध्यक्ष शम्भु झाको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका विच नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि झाले नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई टिका, गम्छा ओढाएर र प्रमाणपत्र प्रदान गरि पदस्थापन गराए ।नवगठित समितिका पदाधिकारीहरूलाई पदस्थापना गराउँदै प्रमुख अतिथि झाले प्रेस मञ्च नेपाल अरु भन्दा नयाँ भएको भन्दै संगठन निर्माणमा जोड दिए ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पछिल्लो समय पत्रकारिता क्षेत्र अमर्यादित हुँदै गएको प्रति चिन्ता व्यक्त गरे । उनले संचार क्षेत्रमा बढ्दै गएको बेतिथी र विकृति अन्त्य गर्न मञ्चका पदाधिकारीहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
पुनस्थापनापछि नवगठित समितिका अध्यक्ष भूषण कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस मञ्च नेपालका महासचिव अबधेश कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष व्यासशंकर उपाध्याय, जितेन्द्र खड्का लगायतले शुभकामना दिएका थिए ।
गत फागुन २१ गते प्रेस मञ्च नेपाल सप्तरीको दोश्रो अधिवेशनबाट भूषण कुमार सिंहको अध्यक्षमा सर्वसम्मत जिल्ला कार्य समिति गठन गरिएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |