राजविराज, २१ चैत्र । सप्तरीका निमित्त प्रहरी प्रमुख डीएसपी नरेशकुमार सिंहले समाचार संकलनमा अवरोध पुर्याएको कार्य प्रति नेपाल पत्रकार महासंघ शाखाका सचिव रामनारायण विश्वासले मंगलबार विज्ञप्ति जारी गर्दै खेद व्यक्त गरेका छन् ।
‘जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादवमाथि जिल्ला प्रहरी कार्यालय परिसरमै एक जना प्रहरी इन्स्पेक्टर बाट कुटपिट भएको सूचना प्राप्त हुनासाथ नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष वैद्यनाथ यादव नेतृत्वमा पत्रकारहरूको टोली समाचार संकलन गर्न जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर निमित्त प्रहरी प्रमुख डीएसपी सिंहको आदेशमा पत्रकारलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाउँदै समाचार संकलनमा बन्देज लगाइएको विज्ञप्तिमा भनिएको छ । समाजलाई सुसूचित गर्ने अधिकार बोकेका पत्रकारलाई घटना सम्बन्धी यर्थात जानकारी प्रहरीले नगराउनु भएको स्वतन्त्र प्रेसमाथि हस्तक्षेप भएको विज्ञप्तिमा भनिएको छ ।
‘पूर्ण प्रेसमैत्री भएको भनिरहने सप्तरी प्रहरीको यो रबैयालाई सहज रुपमा लिन नसक्ने र यो घटनाप्रति नेपाल पत्रकार महासंघ खेद व्यक्त गर्दछ । ‘साथै आगामी दिनमा समेत यस्ता कदम नसच्याए प्रहरी विरुद्ध महासंघ सङ्घर्षमा उत्रिन बाध्य हुनेछ, विज्ञप्तिमा भनिएको छ, ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |