सिरहा, २३ चैत्र । सिरहाको कल्याणपुर नगरपालिकामा गाईको मासु बेचेको भन्दै हिजो बुधबार देखि गाउँमा तनाव उत्पन्न भएको छ । कल्याणपुर नगरपालिका- १० स्थित मुस्लिम वस्तीमा गाई काटेको भन्दै हिन्दु समुदायका स्थानीयहरुले बुधबार बिहानै देखि विरोध जनाउँदै आएको छ ।
नेपालको राष्ट्रिय जनावर एवं हिन्दु तथा बौद्धहरूको लागि गाई पवित्र एवंं पूजनीय जनावरलाई काटेको भन्दै दुई पक्षबीच तनाव उत्पन्न भएको थियो । बुधबार बिहान करिब ११ बजेको समयमा सो बस्तीमा गाईको मासु फेला परेको प्रहरीलाई जानकारी गराइएको थियो । वस्तीमा प्रहरीलाई देखेपछि केही जना फरार भएका थिए र बस्तीबाट २ किलो मासु बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यद्यपि, सो मासु गाईकै रहेको वा नरहेको बारे पुष्टि अझै नभएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शँकर चौधरीका अनुसार सो वस्तीमा धनुषाको जनकनन्दिनी गाउँपालिका-२ बल्हागोठ बस्ने बर्ष ६३ को गरफुदिन शेखले मासु लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। शेखको साथबाट २ किलो मासु र ८० रुपैयाँ बरामद भएको डीएसपी चौधरीले जानकारी दिए । तर आरोपितले समेत गाईकै मासु भएको भनेर संकेत दिएको बताएपछि यथार्थ पुष्टि गर्न ल्याब पठाउने तयारी गरिएको बताए ।
गाईको मासु ठहरिएमा राष्ट्रिय जनावर काटेको आरोपमा उनलाई सोही बमोजिम सजाय हुने जनाइएको छ । यता, सोही वस्ती बस्ने जमसेद अन्सारीले गाईको मासूको विरोध गर्ने लाई गालीगलौज गरेपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुई समुदायबीच कुनै घटना हुन नदिनको लागी आज इलाका प्रहरी कार्यालय मिर्चैयामा सर्वपक्षीय बैठक बसी छलफल भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |