राजबिराज, २५ चैत्र । तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ४ कोइलाडीले हात पारेको छ । शनिबार सम्पन्न रोमाञ्चपूर्ण फाइनल खेलमा वडा नं. ५ को. बर्साइनलाई १ विकेटले पराजित गर्दै कोइलाडीले उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको को. बर्साइनले कमजोर ब्याटिङ प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको थियो । जसमा दिपेश सरदारले सर्वाधिक ५२ रन बनाए भने प्रकाश मण्डलले १० रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अङ्कमा प्रवेश गर्न सकेनन् ।
कोइलाडीका लागि जुगनु मण्डलले ३ तथा रोशन मण्डल र मो. गुड्डुले २/२ तथा मौसम मण्डलले १ विकेट लिएका थिए । जितको लागि ११६ रन पछ्याउने क्रममा कोइलाडी टिम १९ ओभर १ बलमा ९ विकेट गुमाई जित हासिल गर्न सफल भयो । फाइनल खेलका म्यान अफ द म्याच रोशन मण्डलले सर्वाधिक ३५ रन बनाए भने मो. गुड्डुले १८ र मौसम मण्डलले ११ रन बनाएका थिए । को. बर्साइनका लागि विशाल शर्मा र राजन साह बी ले २/२ तथा राजेश दास र राजा रायले १/१ विकेट लिए पनि आफ्नो टिमलाई जिताउन सकेनन् ।
प्रतियोगितामा १०१ रन बनाउनुका साथै ६ विकेट लिएका वडा नं. १ तिलाठीका शिव कामैतलाई म्यान अफ द सिरिज, ३ खेलमा ९५ रन बनाएका को. बर्साइनका सुभाष शर्मालाई वेस्ट ब्याट्सम्यान तथा २ खेलमा ८ विकेट लिएका मन्सापुरका राजकुमार मण्डललाई वेस्ट बलरको पुरस्कार प्रदान गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले बताउनुभयो ।
प्रतियोगिता समापनको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह, गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुलकुमारी साह, प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्की, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, वडा अध्यक्षहरु मुनिलाल मुखिया, ललन प्रसाद राउत र हरिनारायण मण्डल, शिक्षा शाखा प्रमुख चन्द्र भुषण राय, प्रधानाध्यापक विपीन झासहितकाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्दै मन्तव्य समेत व्यक्त गर्नुभयो ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको समापन समारोह कार्यक्रम अधिकृत राजेश कुमार झाले सञ्चालन गर्नुभएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |