बारा, २७ चैत्र । जनता समाजवादी पार्टी (जसपा) नेपलका अध्यक्ष तथा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उपेन्द्र यादवले संघीयता र लोकतन्त्रको रक्षाका लागि आमजनताले परिवर्तनको पक्षमा मतदान गर्नुपर्ने बताएका छन् ।
महागढी नगरपालिकामा सोमबार आयोजित जनता दर्शन कार्यक्रमहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संघीयता र लोकतन्त्र नै समाप्त पार्ने खेल भइरहेकोले प्राप्त उपलब्धीहरूलाई गुम्न नदिन त्यस विरुद्ध एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै उनले भने ‘विरोधी शक्तिहरूले प्राप्त उपलब्धीलाई समेत समाप्त पार्न खोज्दैछ, त्यसैले बारा २ का जनताले परिवर्तनको पक्षमा र प्राप्त उपलब्धीहरूको रक्षाका लागि मतदान गरेर मुहतोड जवाफ लिनैपर्दछ ।’
परिवर्तन देख्न नचाहने तत्वहरूले फेरि राजा ल्याउने षड्यन्त्र गरिरहेकोले संघीयतामाथि प्रहार गरेर अगाडि बढ्न दाउमा रहेको कुरा आमजनताले बुझ्नुपर्ने उनले बताए । जसपा अध्यक्ष यादवले जातीय द्वन्द्व सिर्जना गरी संघीयता समाप्त गराउने खेलमा लागि परेकाहरूलाई जनताले राम्रोसँग चिन्नुपर्नेमा जोड दिए । अहिले सामाजिक रूपान्तरणको आवश्यकता रहेकोले नेपालमा आर्थिक परिवर्तनको लागि कृषि क्रान्तिको लागि सिँचाइ, मल, बीउबिजनको सहजताका साथै कृषिमा आधुनिकीकरण गरि कृषिलाई सबल बनाइए मात्र देशको अर्थतन्त्र बलियो हुने अध्यक्ष यादवले बताए ।
हरेक क्षेत्रका मधेशी समुदायको प्रतिनिधित्व र पहुँच न्यून रहेको कुरालाई महसुस गर्दै मधेश विद्रोह गरेको स्मरण गर्दै उनले मधेश आन्दोलन लोकतान्त्रिक आन्दोलनकै पूरक आन्दोलन भएको बताए । हरेक क्षेत्रमा महिला, जनजाति, आदिवासी, मधेशी मुस्लिम लगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चितता मधेश आन्दोलनबाटै भएको जसपा अध्यक्ष समेत रहेका उम्मेदवार यादवले दावी गरे । लोकतान्त्रिक आन्दोलनकै उपलब्धीका कारण नेपालको पहिलो मधेशी राष्ट्रपति र उपराष्ट्रपति मधेशी समुदायले पाएको उनले चर्चा गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला अध्यक्ष राजेश यादव, नेता प्रमोद गुप्ता लगायतले मधेश र मधेसीको पहिचानको लडाइ लड्न अझै बाँकी रहेकोले भ्रमजालमा नपरी मधेश विद्रोहका नायक उपेन्द्र यादवलाई भारी मतले जिताउन समेत आग्रह गरे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |