राजविराज, २८ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर –१ बैरवास्थित दलित बस्तीमा मंगलबार बिहान भएको आगलागीमा तीन घर जलेर नष्ट भएको छ । बिनय खंगको फुसको घरमा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्केर आगलागी हुदाँ विनय खंगसँगै बिरेन्द्र खंग र रामेश्वर खंगको घर जलेर खरानी भएको प्रहरीले जनाएको छ ।
घरमा लागेको आगो निभाउने क्रममा ५२ वर्षीय विनय खंग र ३५ वर्षीय राजिन्द्र सदा घाइते भएका छन् । खंगको ढाड तथा पिठ्यू जलेको छ भने सदाको जस्तापाताले नाक काटिएको छ । दुवैको स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि खंगलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागीमा परी तीनै परिवारको घरमा रहेका धान, गहुँसहितको खाद्यन्न, फर्निचरका सामग्री तथा लताकपडा नगद गरी कुल ९ लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । कञ्चनरुप नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट विनय खंगको बाछी समेत जलेर मरेको छ ।
दलित सरोकार मञ्च नेपालले आगलागीबाट पीडित परिवारलाई मंगलबार नै राहतमा खाद्यान्य र त्रिपाल वितरण गरेको छ । मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवान,कञ्चनरुप नगरपालिका वडा नम्बर १का वडाअध्यक्ष रब्बान खाँन, कार्यपालिका सदस्यद्वय शोभा पासवान र सुरेश पंजियार, वडासदस्य दुर्गानन्द यादब,कलिम शेख र संयुक्त दलित सर्घष समिति कञ्चनरुपका संयोजक रामदेश शर्मा खत्वेको उपस्थितीमा प्रति परिवार ५० किलो चामल, ५० किलो गहुँको आटा, २ केजी दाल, २ केजी चिनी,२ लिटर तेल र ४ पिस साबुन र एक एक ओटा त्रिपाल वितरण गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |