राजविराज, ६ बैशाख । पत्रकार नवीन कुमार यादवमाथि भएको दुव्र्यवहारको प्रेस चौतारी सप्तरीले निन्दा गरेको छ । समाचारको कारण तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मन्डलले अभद्र व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस चौतारी सप्तरीका अध्यक्ष डम्बर राईद्वारा जारी विज्ञप्तिमा सार्वजनिक पद धारण गरेको ब्यक्तिबाट सार्वजनिक स्थानमा पत्रकारलाई धाकधम्की दिनुलाई सिङ्गो सञ्चार जगतलाई दबाउन खोजेको रुपमा लिएको उल्लेख छ ।
विज्ञप्तिमा सञ्चार र सञ्चारकर्मीको काम, कर्तव्य तथा मान मर्यादालाई ख्याल नगरी अध्यक्ष मण्डलले पत्रकारलाई “किन समाचार लेखेको ? कस्लाई सोधेर लेखेको ?” भन्दै अश्लील शब्द प्रयोग गरेर तथानाम गाली गरेको बताइएको छ ।
राजविराजबाट नियमित प्रकाशन हुँदै आएको पब्लिक प्रेस दैनिकको बैशाख २ गतेको अङ्कमा “पटक पटकको ग्याङ्ग फाइटले स्थानीय आजित” शीर्षकको समाचार प्रकाशन भएको थियो । सोही विषयलाई लिएर पत्रकार यदवलाई अध्यक्ष मण्डलले बोलाएर सार्वजनिक स्थानमा धम्क्याएका थिए ।
सञ्चार र सञ्चारकर्मीलाई जे गरे पनि हुन्छ भन्ने सोचाइबाट ग्रसित देखिएका अध्यक्ष मण्डललाई कानूनी दायरामा ल्याउन अध्यक्ष राईले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |