काठमान्डौ, २० बैशाख । नेपाल क्रिकेट संघ क्यानले विधान संशोधन गर्दै क्यानको विधानबाट राखेप प्रतिनिधि हटाइएको छ । मंगलबार काठमान्डौमा आयोजित विधान संशोधनका लागि क्यानले विशेष साधारणसभा वाट राखेप प्रतिनिधि हटाइएको छ ।
क्यानले २०७५ सालमा तेस्रो संशोधनमार्फत विधान तयार गरी निर्वाचन सम्पन्न गरेपछि आईसीसीको निलम्बन फुकुवा भएको थियो । पछिल्लोपल्ट संशोधित विधानमा राखेपका २ जना प्रतिनिधिलाई कार्यसमितिमा ल्याउने व्यवस्था थियो ।
दफा ३ (४) अनुसार राखेपका दुई प्रतिनिधिलाई कार्यसमितिमा ल्याउने, तर उनीहरूसँग मताधिकार नहुने व्यवस्थालाई नयाँ संशोधनले खारेज गरिदिएको छ ।क्यानको कार्यसमितिमा राखेपका दुई प्रतिनिधिसमित १९ जना रहनेछन् । तीनमध्ये १७ जना निर्वाचन प्रक्रियाबाट आउने व्यवस्था यथावत राखिएको छ ।
साधारणसभाको सदस्यहरूमध्येबाट कार्यसमितिले १ र अध्यक्षले १ जना मनोनित गर्ने व्यवस्था राखिएको छ । उनीहरूले एकाधिकारसमेत पाउनेछन् । विधानको दफा २८ (१) अनुसार कार्यसमितिको पदाधिकारी पद खाली रहेको अवस्थामा पदाधिकारीबाटै पदपूर्ति गर्ने व्यवस्थालाई पनि संशोधन गरिएको छ । विधान संशोधन गरी कार्यसमितिको नयाँ निर्वाचनका लागि प्रक्रिया सुरु गर्ने बाटो खोलेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुकुल हुने गरी विधानमा व्यवस्था गर्ने निर्णय सर्वसम्मत पारित गरिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । गएको १४–१५ फागुनमा सुर्खेतमा सम्पन्न वार्षिक साधारणसभाले कार्यसमिति सदस्य पदम खड्काको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन समिति गठन गरेको थियो ।
सोही समितिको सुझाव र निर्णयलाई मंगलबार विशेष साधारणसभाले पारित गरेको हो । साधारणसभाले साउन मसान्तसम्म केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । अध्यक्ष चन्दले विधान संशोधनको निर्णयसँगै राखेपबाट पारित गरेर निर्वाचनको तयारी सुरु गर्ने जानकारी दिए ।
जिल्ला, प्रदेश र केन्द्रको चुनावी साधारणसभाका लागि कार्यसमितिको आगामी बैठकले निर्णय गर्नेसमेत उनको भनाइ छ । हालको कार्यसमितिमा सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि सो पदको कार्यवाहकका लागि पदाधिकारीबाटै चुनिन असम्भव भएपछि बाधा अड्काउ फुकाउ मार्फत सदस्यलाई जिम्मेवारी दिइएको थियो ।
क्यानमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ४ जनामात्र पदाधिकारी रहने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार अब अध्यक्षबाहेक पदाधिकारी पदक खाली हुँदा सदस्य मध्येबाट कार्यवाहक दिइनेछ ।
जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यले दुई कार्यकालभन्दा बढी सोही पदमा निर्वाचित हुन नपाउने दफा ९ (९) मा रहेको व्यवस्थालाई पनि विशेष साधारणसभाले हटाएको छ । क्यान अध्यक्ष चन्दका अनुसार जिल्ला कार्यसमितिको हकमा मात्र यो व्यवस्था राखिएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |