राजविराज, २१ बैशाख । जिल्ला समन्वय समिति (जिसस) सप्तरीका प्रमुख शिवनारायण साहले निर्माण सामग्रीको गुणस्तरीयताको परीक्षणका लागि बनाएको प्रयोगशाला अगाडि गाईपालन गरेका छन् । पछिल्लो दुई महिनादेखि प्रमुख साहले गाईपालन गरेका हुन् ।
जिसस परिसर भित्रै रहेको प्रयोगशाला अगाडि एउटा गाई र दुईवटा बाछाबाछी राखिएको छ । प्रमुखले नै गाई ल्याएर राखेपछि सबै चुपचाप छन् । प्रमुखज्यूले आएर यो गाईबाच्छा अबदेखि यही रहन्छ भनेपछि राख्नैपर्यो,’ एक कर्मचारीले भने ।
गाईबाच्छा स्याहार सुसार गर्न पनि समितिकै कार्यालय सहायकहरूलाई खटाएका छन् । कार्यालय सहायक जयनारायण यादव र तेजनारायण यादवलाई स्याहार गर्ने गरेका छन् । प्रयोगशालाको अगाडि पशुचौपायाका लागि खानेकुरा खुवाउन सिमेन्टको डुँड राखिएको छ ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले आफूले गाई राखेको स्वीकार गरे । उनले भने, ‘यो गाई मैले व्यक्तिगत फाइदाका लागि राखेको होइन, व्यक्तिगत फाइदाभन्दा धेरैजनालाई गाईको गहुँत र गोबर लगायतको काम पर्ने गरेकोले बाछाबाछी व्यक्तिगत लगानीमा राखेको हुँ ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |