राजबिराज । सप्तरीको राजविराजस्थित एक छात्रावासको तेस्रो तलाबाट लडेर ९ वर्षीय बालकको मृत्यु भएकाे छ ।
बिहिवार राजविराज–७ स्थित प्यारागन विद्यालयको तेस्रो तलाबाट लडेर डाकनेश्वरी नगरपालिका–७ का ९ वर्षीय मोहम्मद ममताजको ज्यान गएको हो । कक्षा २ मा अध्ययनरत ममताज प्यारागन विद्यालयमा कक्षासँगै छात्रावासमा बस्दै आएका थिए ।
गत वैशाख १२ गते विद्यालय र छात्रावासमा भर्ना भएका ममताज २१ गते बिहीबार साढे १२ बजे मात्र छात्रावास आएका उनी साँझ ५ बजेर ३९ मिनेटमा छतबाट लडेका थिए ।
छात्रावासमा ट्युसन पढिरहेका बेला साढे ५ बजे एउटा शिक्षकको पालो समाप्त भएको र त्यसपछि विद्यालयमा प्रिन्सिपल उमाकान्त साहले ट्युसन कक्षा लिने तयारी थियो ।
तर साह ट्युसन कक्षामा पुग्न केही मिनेट ढिलाइ भएको खाली समयमा विद्यार्थीलाई हेर्ने कोही नभएपछि विद्यालयको तेस्रो तल्लाको छतमा गएका बालक ममताज त्यहाँबाट लडेका थिए ।
त्यो तल्लामा रेलिङ छैन । रेलिङ नहुँदा तल हेर्ने क्रममा बालक लडेको हुन सक्ने अनुमान गरिएको छ । तेस्रो तल्लाबाट लडेपछि बालकलाई उपचारका लागि छिन्नमस्ता अस्पताल ल्याएको केहीबेरमै उनको ज्यान गएको थियो ।
सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |