राजविराज, २४ बैशाख । मधेश प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री सिंगासन साह कलवारले शुद्ध, सफा र स्वच्छ खानेपानीको लागि निःशुल्क वाटर एटिएम मेसिनको व्यवस्था गर्न लागेको बताएका छन् ।
सप्तरीको राजविराजमा मन्त्री कलवारले पत्रकारहरूसँग भेटघाट कार्यक्रममा प्रदेशभरि ठाउँठाउँमा शुद्ध, सफा र स्वच्छ खानेपानीको लागि बैंकको ‘एटिएम’ बाट आवश्यकताअनुसार पैसा झिकेजस्तो अब मानिसको प्यास मेटाउनका लागि पनि बैंकजस्तै ‘वाटर एटिएम’ बाट पानी पिउन निःशुल्क एटिएम मेसिन जडान गर्ने तयारीमा लागेको बताएका हुन् ।
उनले अबको तीन वर्षभित्र प्रदेशभरिका सर्वसाधारण जनतासमक्ष शुद्ध एवम् स्वच्छ खानेपानी पुर्याइसक्ने लक्ष्य रहेको बताए । ‘स्वच्छ खानेपानीको योजना थालिसक्यौं, र अबको तीन वर्षभित्र मधेश प्रदेशभरिका जनतासमक्ष शुद्ध, सफा र स्वच्छ खानेपानी पुर्याइसक्ने छौं ।’
खानेपानीका अधुरो आयोजनाहरू पूरा गर्न अब कति समय लाग्ला तरु भन्ने प्रश्नमा मन्त्री कलवारले प्रदेशका ५० वटा आयोजनाहरू यसै वर्ष सुचारु गर्ने उदेश्यकासाथ अर्थ मन्त्रालयसँग ५० करोड रुपैयाँ माग गरिएको जानकारी दिए । ‘हामीले अपेक्षा गरेअनुसार कार्य गर्न सकिरहेका छैनौ, जसको प्रमुख कारण हो कर्मचारी अभाव, उनले भने ।
कार्यक्रममा निर्वतमान अर्थ मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता शैलेन्द्र प्रसाद साह, जसपाका युवा नेता एवम् निवर्तमान प्रदेश सांसद विदेश्वर प्रसाद यादव (विक्की) लगायतको उपस्थिति थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |