राजविराज,२९ बैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले सेवाग्राहीका लागि आजदेखि डिजिटल टोकन प्रणालीको शुरुवात गरेको छ । एक कार्यक्रमका बीच कार्यवाहक मेयर इसरत परबिन र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले ‘टोकन’ प्रणालीको उद्घाटन गरेका छन् ।
सेवाग्राहीको भीडलाई मध्यनजर गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले सो कार्यालयले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि डिजिटल टोकन प्रणालीको सुरुवात गरेको हो ।
त्यस अवसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि परबिनले टोकन प्रणाली लागू भएपछि सेवाग्राहीलाई समयमै काम हुने विश्वास व्यक्त गरिन् । प्रमुख जिल्ला अधिकारी थापाले अब विचौलियाको प्रभावबाट मुक्त हुने विश्वास व्यक्त गरे । यसअघि पहिला आउने सेवाग्राही पनि विचौलियाकै कारण पछि पर्ने गरेको गुनासो आफू समक्ष आएको बताउँदै उनले अब यस्तो समस्या समाधान हुने बताए ।
नागरिकता शाखा, राष्ट्रिय परिचयपत्र शाखा, राहदानी शाखा र अन्य कामको लागि आएका सेवाग्राहीले यहाँ रहेको मेसिनमा थिचेर आफ्नो टोकन नं प्राप्त गर्ने छन् भने सोही नम्बरका आधारमा पालैपालो सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |