राजविराज । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४ बेल्ही चपेनाबाट एक भारतीय नागरिकलाई वडा अध्यक्ष अशोक कुमार साहको मिलोमतोमा झूठो विवरण पेश गरी सप्तरी जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको छ ।
भारतको बिहार राज्य जिरोगा ग्राम पञ्चायत निवासी २९ वर्षीय जिवछ केशरीलाई एक महिना अगाडि मनिष कुमार महतो नामले रामशुभक महतोको नक्कली छोरा बनाई वडा अध्यक्ष साहको सिफारिसमा जिल्ला प्रशासन कार्यालय सप्तरीले नेपाली नागरिकताको प्रमाण पत्र दिएको देखिएको छ ।
झुठो विवरण पेश गरी नाम बदलेर नेपाली नागरिकता लिने केशरीको भारतको बिहार राज्य जिरोगा ग्राम पंचायतको आम निर्वाचन नामावली २०२१ को मतदाता नामावलीको उनको नाम समेत रहेको छ । निज केशरी २०२१ को आम निर्वाचनमा भारतमा भोट समेत खसालेका थिए ।
नेपाली नागरिकता दिलाउन आफ्नै छोरा हो भनी झुठा विवरण पेश गरी सहयोग गर्ने रामशुभक महतोले आफ्नो श्रीमती सोनावती देवी महतोलाई जिल्ला प्रशासन कार्यालय सप्तरीमा सनाखत गर्न लगाएको प्राप्त प्रमाणबाट देखिएको छ ।
यसरी गैर कानुनी रुपमा झुठा विवरण पेश गरी नागरिकता लिनु अपराध हो ।झुक्याएर सही गरेको स्विकार्दै वडा अध्यक्ष साहले पछि आफू सहित आफ्ना वडा सचिव जिल्ला प्रशासन कार्यालय सप्तरीमा गएर नागरिकता बदरको लागि निवेदन समेत दिएको जानकारी गराएका छन् ।
यता नागरिकता प्रकरण बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |