राजविराज, ०५ जेठ । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिको कामना गर्दै मिथिलाञ्चलमा महिलाले शुक्रबार बरसाइत (बट सावित्री) पर्व मनाएका छन् । नयाँ वस्त्र पहिरी, सोह्र श्रृंगार गरेर महिलाले सौभाग्य-समृद्धिका लागि वरको रूखमा दूध र जल चढाई श्रद्धापूर्वक बरसाइत (बट साबित्री) पर्व मनाएका छन् ।
वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुने तथा सावित्री पनि सोही रूखमा प्रतिष्ठापित हुने मान्यताअनुसार पतिको दीर्घायुका लागि व्रत गर्ने गरिन्छ । शुक्रबार बिहानैदेखि सप्तरीको सदरमुकाम राजबिराज तथा ग्रामीणभेगमा रहेको वरको रूखमुनि पुजा गर्न महिलाहरू लाम लागेको थियो ।
नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्य रुपमा श्रीमानकै घरमा मनाउनुपर्छ । अघिल्लो दिन नहायखाय (स्नान गरी) सात्विक भोजन गरेपछि सोह्र श्रृंगार अर्थात् लाउने लुगादेखि चुरासम्मका सबै शृंगार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।
सुरुमा ब्राह्मण, क्षेत्री, बैश्य र कायस्थले मात्र मनाउने पर्व अहिले सबै मैथिल समुदाय तथा तराईमा बसोबास गर्ने पहाडी र माडबारी समुदायले समेत मनाउन थालेका छन् । बिहानै नुहाई रातो पहिरनमा नजिकको वर (बट) को रुखमुनि बसेर पानीमा भिजाएर उमारिएको चना, मुंग, चामल, काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिँदुरले रगाउँछन् । प्रसाद चढाइसकेपछि बर्तालुले वरको रुखमा सात फेरो पहिलो र रातो धागोले बेर्छन् ।
वरको रूखको पूजासँगै जेष्ठ महिलाले रूखमुनि गौरी, भगवती र विसहराको कथा भन्ने र अरुहरूले सुन्ने गर्छन् । पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्ने गर्छन् ।
व्रतालु महिलाले बट सावित्री व्रतका दिन सिन्दूर, फल, फूल, अक्षता, बाँसको पंखा, चना र मिठाईले सावित्री, सत्यवान, नाग र यमराजको पूजा गर्छन् । नयाँ फल आँप, लिच्ची, केरा, भिजाएको चना आदी चढाएर पूजा गरी बाँसको पंखाले हम्कनाले शीतलता प्राप्त विश्वास रहिआएको छ।
प्रेम, श्रद्धा र समर्पणको यो पर्व पवित्र प्रेमको पौराणिक कथामा आधारित छ । सनातन काल त्रेतायुगदेखि मनाउन थालिएको बट सावित्रीको पूजा गरेमा महिलाले अखण्ड सौभाग्यवतीको आर्शिवाद प्राप्त गर्ने विश्वास रहेको छ । पतिव्रता सावित्रीले यही पर्व गरेर मृत पति सत्यवानलाई यमराजबाट फिर्ता गरेको धार्मिक मान्यता छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |