राजबिराज, १७ जेठ । डाक्नेश्वरी नगरपालिकाले विपद व्यवस्थापन मार्फत जोखिम न्यूनीकरण गरी धनजनको क्षतिबाट बचाउन कृतिम अभ्यास गरिएको छ ।
बुधवार सशस्त्र प्रहरी र नगरपालिका बीच समन्वय, संवाद र उद्धारमा कुनै पनि प्रकारको दुबिधा नहोस् भन्ने उद्देश्यका साथ डाक्नेश्वरी नगरपालिका रहेको पोखरीको डिलमा तथा पानीमा अभ्यास गरिएको हो ।
डाक्नेश्वरी नगरपालिकाको आयोजनामा भएको विपद प्रतिकार्य अभ्यासमा सशस्त्र प्रहरी बल राजबिराज , सशस्त्र प्रहरी बल पातो र डक्नेश्वरी नगरपालिकाको पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो ।
सशस्त्र प्रहरीको उद्धारटोलीले आगलागी , भुकम्प , बाढीपहिरोबाट हुने जनचेतना अभ्यास गरेको थियो । टोलीले परिमार्जित उद्धार तरिकाको प्रयोग र प्रदर्शन, स्वीफ्ट वाटर रेस्क्यु, राफ्ट उद्धार, रबर बोटको फ्लिप रिफ्लिप प्रदर्शन, डोरीबाट उद्धार, बाढीबाट प्रभावित समुदायका पीडितको उद्धार कार्यको प्रदर्शन तथा अभ्यास समेत गरिएको थियो ।
कार्यक्रम पश्चात् नगरपालिका मेयर रामलखन मलाहले सीमित श्रोत र साधनका बावजुद सशस्त्र प्रहरीले उद्धार कार्यमा उच्च निपुणता देखाएको र विपद व्यवस्थापनको लागि चाहिने आवश्यक सहयोग गर्न नगरपालिका तत्पर रहेको बताए ।
सशस्त्र प्रहरी नायब उपरीक्षक बाल कृष्ण श्रेष्ठले आगलागी , भुकम्प , डुबान, कटान र नदीमा डुबेको व्यक्तिलाई आफूसँग उपलब्ध साधन श्रोत र उद्धार सामग्रीको प्रयोग गरेर नजिकको सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउने जस्ता अभ्यास गरिएको स्पष्ट पारे ।
अभ्यास कार्यक्रममा संबिधान सभा सदस्य ताराकान्त चौधरी , डक्नेस्वरी नगरपालिका प्रमुख उपसचिव बिनय कुमार सोनु , सशस्त्र प्रहरी तथा नगरपालिकाको अधिकारीहरू लगायत सञ्चारकर्मीहरू र ५ हजार भन्दा बढी स्थानीयवासीहरू समेतले अभ्यासको अवलोकन गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |