एजेन्सी । भारतको ओडिशा बालासोरमा शुक्रबार साँझ भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ भने करिब ९ सय यात्रु घाइते भएका छन् । यसको पुष्टि गर्दै ओडिशाका मुख्य सचिव प्रदीप जेनाले एक ट्वीटमा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै गएको बताएका छन् ।
हिजो भएको यो भयानक दुर्घटनामा ओडिशाको बालासोरमा शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसको १० देखि १२ डिब्बा पटरीबाट खसेर विपरीत ट्र्याकमा खसेका थिए । अर्को ट्र्याकमा, यशवंतपुरबाट हावडा जाँदै गरेको अर्को ट्रेन शालिमार(चेन्नई कोरोमण्डल एक्सप्रेसको कोचसँग ठोक्किएपछि पटरीबाट खसेको थियो। यो रेलका ३ देखि ४ डिब्बा पटरीबाट खसेका छन् ।
यसैबीच रेलमन्त्री अश्विनी वैष्णव बालासोर पुगेर उनले रेल दुर्घटनाको उच्चस्तरीय छानबिन गर्न आदेश दिएको छ । यति ठूलो दुर्घटना हुनुको वास्तविक कारण के हो भन्ने जान्न जरुरी छ । राहत र उद्धारका लागि एनडीआरएफ, ओडीआरएएफ र दमकल विभागका टोली घटनास्थलमा उपस्थित छन् । वायुसेनाको पनि सहयोग लिइएको छ । यति ठुलो दुर्घटना हुनुको वास्तविक कारण के हो भन्ने जान्न जरुरी रहेको रेलमन्त्रीले बताए ।
रेल मन्त्रालयले दुर्घटनामा परी ज्यान गुमाएकाहरुलाई राहत रकम दिने घोषणा गरेको छ । मृतकका आफन्तलाई १० लाख, गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिइने छ । अर्कोतर्फ, बालासोरमा भएको दुःखद रेल दुर्घटनापछि ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले एक दिनको राजकीय शोकको आदेश दिएका छन्। ओडिशाको सूचना र जनसम्पर्क विभागले जुन ३ मा सम्पूर्ण राज्यमा कुनै पर्व मनाइने छैन भनेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |