जनकपुरधाम, २१ जेठ । सप्तरी जिल्लामा रहेर मानव अधिकारको अभिलेख, प्रसार र पीडितको न्यायका लागि काम गर्दै आएका मनोहर पोखरेल आइतबार जनकपुरमा पुरस्कृत भएको छ । इन्सेकले उत्कृष्ट प्रतिनिधिका रुपमा पोखरेललाई नगद पुरस्कार र प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले दोसल्ला ओढाएर, इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले प्रंशसा पत्र हस्तान्तरण गरेर तथा कोषाध्यक्ष गीता बरालले माला पहिर्याएर सम्मान गरेका हुन् ।
मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पद र शक्तिमा हुनेहरुले पछाडि पारिएकाहरूलाई शक्तिशाली बनाउन ध्यान दिनुपर्ने बताए । समानता, स्वतन्त्रता, मर्यादा मानव अधिकारको सुन्दर पक्ष रहेको भन्दै मानव अधिकारप्रति सरोकारवाला गम्भीर हुनुपर्नेमा जोडदिए ।
कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता बिरेन्द्र ठाकुरले सामाजिक सुधारको सुचकांकलाई कायम राख्न मानव अधिकारको पूर्ण पालना जरुरी रहेको बताए । उहाँले मानव अधिकार पालनाको अवस्थामा क्रमशः सुधार आएको र प्रदेशका कारागार, प्रहरी हिरासतहरुको अनुगमन गरेको चर्चा गरे ।
कार्यक्रमका अध्यक्ष इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकारको रक्षाका लागि काम गर्ने संस्थाहरुको साझेदारीको आवश्यक्ता रहेको बताए । नागरिक समाज, मानव अधिकार रक्षक र राज्यबीच समन्वय र सहकार्य भएमा उपलब्धी हासिल हुने अर्यालले बताए ।
कार्यक्रममा प्रहरी उपरिक्षक विश्वराज खडका, नेपाल पत्रकार महासंघ उपाध्यक्ष अवधेश कामत, कानुन व्यवसायी, थर्ड एलायन्स, ओरेक, महिला मानव अधिकार रक्षक सञ्जाल, एकल महिला समूह, लगायत विभिन्न संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |