राजविराज, ३१ जेठ । समानुपातिक विज्ञापनको नितीलाई व्यवहारिक रुपमा तत्काल कार्यान्वयन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता लगायतका १४ बुँदे माग सहित प्रेस सेन्टर नेपाल सप्तरी शाखाले बुधवार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
शाखा अध्यक्ष दिनानाथ यादवको नेतृत्वमा पुगेको संचारकर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई उक्त १४ बुंदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा पत्रकारको दक्षता अभिवृद्धिका लागी आम सञ्चार प्रशिक्षण प्रतिष्ठान तत्काल गठन गर्नू पर्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई अनुगमन गरी सरकारी सेवा सुविधाबाट बञ्चित गर्नू पर्ने, सरकारी तथा निजी संचार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरूको रोजगारीको सुनिश्चिता लगायतको विषय तर्फ ध्यानाकर्षण गराइएको छ ।
यस्तै साइबर कानून मार्फत प्रशासनले पत्रकार तथा संचार माध्यममा त्रास उत्पन्न गराउने गरेको कार्य अविलम्ब रोक्न, श्रमजीवी पत्रकारलाई समाजिक सुरक्षा कार्यक्रममा समेटन, न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेअनुसारको पारिश्रमिक निर्धारण तथा संचार माध्यमलाई विभिन्न ठाउँमा दर्ता र नवीकरण गर्नु पर्ने झन्झटिलो ब्यवस्था खारेज गरी कुनै एक ठाँउको दर्तालाई नै आधार मानी काम कारवाही गर्न सकिने व्यवस्था मिलाउन ध्यानाकर्षण पत्र मार्फत माँग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ थापाले उक्त मागँहरु सम्बोधन गराउन आफूले सम्बन्धित निकायमा सक्दो पहल गर्ने आश्वासन दिएको प्रेस सेन्टर शाखा सप्तरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |