राजविराज, ११ असार । बजाज खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो पटक उपाधि जितेको छ ।
पब्लिक विन्देश्वरी मा.वि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा कन्चनरुप राइनोजले दिएको १४५ रनको लक्ष्य ३ बल बाँकी रहंदा बजाज खडक वारियर्सले उपाधि जितेको हो ।
लक्ष्य पछ्याउने क्रममा ५८ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ नम्बरमा ब्याटिंग गरेका बिशाल सुश्लिंगले विकेट नगुमाई ब्याटिंग गर्दै टिमलाई जितसम्म पुर्याए । सुश्लिंगले अविजित ४६ रन बनाए जुन क्रममा ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । उनले पाँचौ विकेटको लागि बिबेक यादवसंग ३० रनको, छैठौं विकेटको लागि दिनेश अधिकारीसंग ३६ रनको तथा सातौँ विकेटको लागि अनिल यादवसंग अविजित २२ रनको साझेदारी गरे ।
रोमान्चक बनेको खेलको अन्तिम २ ओभरमा ८ बलमा जित्न २० रन आवश्यक थियो । सो अवस्थामा राशिद खानले गरेको १९ औं ओभरको अन्तिम २ बलमा अनिल यादवले लगातार २ चौका प्रहार गरे। अन्तिम ओभरमा १२ रन आवश्यक रहँदा पप्पु यादवको पहिलो बलमा २ रन लिएका विशाल सुश्लिंगले दोश्रो बलमा चौका र तेश्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाए ।
वारियर्सका ओपनर साहिल पटेलले २१, राज वर्माले १७ तथा कर्ण बिक, सन्दिप रजालीले समान १४ रन तथा अनिल यादवले अविजित ९ रन बनाए। कन्चनरुपको बलिंगमा चित्र बिस्टले सर्वाधिक ३ विकेट लिए भने राशिद खान, नारायण जोशी र पप्पु यादवले १/१ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको कन्चनरुप राइनोजले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४५ रन बनायो । कन्चनरुपको लागि ओपनर दिलिप नाथले सर्वाधिक ४२ रन योगदान दिए जुन क्रममा उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ तथा अमित यादवले १६ रन बनाए ।
बजाज खडक वारियर्सको कप्तान बिबेक यादवले ४ ओभर बलिंग गर्दै २५ रन खर्चेर ४ विकेट लिए । गोमानन्द अमात्यले २ तथा अनिल यादव र दिनेश अधिकारीले १/१ विकेट लिए ।
प्रतियोगिताको उपाधि सहित बजाज खडक वारियर्सले तिन लाख रुपैयाँ हात परेको छ । उपविजेता कन्चनरुप राइनोजले एक लाख पचास हजार रुपैयाँ पायो । प्लेयर अफ द सिरिज घोषित कन्चनरुप राइनोजका राशिद खान घोषित भए जसले २५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृस्ट ब्याट्सम्यान छिन्नमस्ता लायन्सका शुभ कंसाकार तथा उत्कृष्ट बलर बजाज खडक वारियर्सका दिनेश अधिकारी घोषित भए । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १५ हजार रुपैयाँ पाए। यस्तै प्रतियोगिताको उदयमान खेलाडी बलान बिहुल सुपर किंग्सका विशाल यादव घोषित भए जसले क्रिकेट किट प्राप्त गरे।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |