राजबिराज । भुक्तानी नपाएपछि उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरूले बुधवार पनि राजविराज नगरपालिकामा तालाबन्दीका साथै धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
सोमवार देखी राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेका उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरूले बुधवार पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् । बुधवार बिहान लिखित सहमति हुने र बाकी रकमको भुक्तानी राजबिराज नगरपालिकाको अन्य स्रोतबाट गरिने सहमति हुने सम्भावना रहेपनि अहिले सम्म हुन नसकेकोले तालाबन्दी यथावत रहेको आन्दोलनमा सहभागी लक्ष्मण यादबले जानकारी दिए ।
नगरपालिका मार्फत भएका सडक, नाला, प्रवेशद्वार, सामुदायिक भवन लगायत विभिन्न योजनाको काम गरेबापत भुक्तानी नपाएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् । उपभोक्ता समितिका अध्यक्ष मध्येका एक भुपेन्द्र यादबले दुई दिन देखी आफूहरू आन्दोलनमा बस्दा पनि नगरपालिकाका पदाधिकारीहरूले कुनै चासो नदेखाएको गुनासो गरे ।
आफूहरूले काम गरेबापतको रकम भुक्तानी पाउने पर्ने एक सूत्रीय मागका साथ आन्दोलनमा उत्रिएका उनीहरूले यस्तै वेवास्ता गरिराख्ने हो भने अनशनमा उत्रिने समेत चेतावनी दिएका छन् । भुक्तानीको अन्तिम समय आइतबार मध्यरात सम्म भुक्तानी नभएका कारण नगरपालिका मार्फत गरिएका काम मध्ये करिब १० करोड भन्दा बढीको भुक्तानी बाकी रहेको नगरपालिका श्रोतले जानकारी दिएको छ ।
यता दुई दिन देखी नगरपालिका कार्यालय बन्द गरी धर्ना दिँदा नगरपालिकामा विभिन्न कामले आएका सेवाग्राही भने निराश भई फर्किने गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |