इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका– १७ स्थित शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार चार जनामध्ये तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते मोटरसाइकलमा सवार तीनैजनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सख्त घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबै एकै गाउँका रहेको बताइएको छ ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |