राजविराज, १३ साउन । मधुश्रावणी पर्वको अवसरमा प्रदान गरिदै आएको प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाद्वारा भाइबुहारी उर्मिलादेबी झाको स्मृतिमा स्थापना गरेको मैथिली गीत गायन पुरस्कार यस वर्ष सप्तरीको राजविराज- ४ की मैथिली लोकगीत गायिका कञ्चन झालाई प्रदान गरिने भएको छ ।
प्रेस स्वतन्त्रता सेनानी झाका अनुसार मैथिली साहित्य परिषद्को समन्वयमा आज बसेको बैठकले उक्त निर्णय भएको जानकारी दिएका हुन ।
मैथिली साहित्य परिषद्की आजीवन सदस्य मैथिली गीत गायिका उर्मिला देवी झाको पाँच वर्षअघि मधुश्रावणी पर्वकै समयमा मोरङ्गको विराटनगरमा भएको दुर्घटनामा मृत्यु भएको थियो । उर्मिलाकै स्मृतिमा उहाँका जेठाजु प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले चार वर्षदेखि पुरस्कार वितरण गर्दै आएका छन् ।
मैथिली गीत गायन पुरस्कार प्रकाश स्मृति दिवसकै अवसरमा आगामी मङ्गलबार राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाकक्षमा हुने कार्यक्रममा वितरण गरिने प्रेस स्वतन्त्रता सेनानी झाले जानकारी दिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |